काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले ठूला दलका शीर्ष नेताहरुबीच संवाद हुनु सकारात्मक रहेको बताउनु भएको छ।
आज प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले पछिल्लो दुई दिन जतिका समाचारहरु र राजनीतिक घटनाक्रम नियाल्दा सिंगै राजनीति तरङ्गित भए जस्तो देखिएको बताउनुभयो।
‘तुरुन्तै दुई जना नेताहरु बस्ने बित्तिकै पुरै सत्ताको समीकरण उलटफेर हुने, समीकरण नै बदलिने परिस्थितिको जे भाष्य बनाउने, यथार्थ विश्लेषण बिना नै चाँडै निष्कर्षमा पुग्ने जे परिपाटी छ, यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन । र सबै घटनाक्रम जोडेर हेर्दा त्यसमा सत्यता छ जस्तो पनि मलाई लाग्दैन’ सांसद सापकोटाले भन्नुभयो।
शीर्ष नेताहरुका बीचमा संवाद हुनु सकारात्मक रहेको उल्लेख गर्दै उहाँले शीर्ष भेटमा देशको अर्थतन्त्र, मुलुकका समग्र विषयमा छलफल हुनुपर्ने बताउनुभयो।
जोडदार रुपमा आफ्ना अडान राख्ने र परि आउँदा एक ठाउँमा उभिने नेपाली संस्कार रहेको उल्लेख गर्दै उहाँले मुलुकका साझा विषयमा शीर्ष नेताहरुबीच निरन्तर संवाद हुनुपर्नेमा जोड दिनुभयो।