काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल र चीन सरकारबीच भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) समझदारी संसदमा पेश गर्न माग गर्नुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले सन् २०१७ मे १२ तारेखमा नेपाल र चीन सरकारबीच भएको समझदारी (एमओयू) संसदमा पेश गर्नुपर्ने बताउनुभएको हो ।
‘सन् २०१७ मे १२ मा एमओयू साइन भएको थियो, त्यो डकुमेन्ट हाम्रो संसदमा उपलब्ध छैन, त्यो हामी सार्वभौम नेपालीले हेर्ने गरी र सार्वभौम संसदले पढ्ने गरी उपलब्ध गराइदिन रुलिङ होला भन्ने अपेक्षा गरेको छु’, उहाँले भन्नुभयो ।
अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा वादविवाद र छलफल भएजस्तै बीआरआईको डकुमेन्टमाथि पनि छलफल हुनुपर्ने सांसद बजगाईंको भनाइ छ ।
उहाँले एमसीसी र बीआरआई प्रतिस्पर्धी नभएको यिनीहरुमा फरक रहेको बताउनुभयो । चीनसँग ऋण लिनै हुँदैन भन्ने आफूहरुको भनाइ नरहेको भन्दै सांसद बजगाईंले तर नेपालले चर्को ऋण बोक्न नसक्ने बताउनुभयो ।
नेपाली कांग्रेस सरकारबाट बाहिर हुनेबित्तिकै नेपालमा बीआरआईको बहस उठाउने गरिएको सांसद बजगाईंको भनाइ छ ।