काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको मुद्दाको सुनुवाइ शुक्रबार(आज) हुने भएको छ ।
सहकारी ठगीमा संलग्न रहेको दाबी गर्दै उहाँलाई मन्त्री पदबाट निलम्बनको मागसहित अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट निवेदनको पेशी आजका लागि तोकिएको हो ।
उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो । इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको हो । आज दुई न्यायाधीशको इजलासले यो विवादमा सुनुवाइ गर्ने छ ।
महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिँदै उहाँविरुद्ध कुनै पनि जिल्लामा अनुसन्धान,अभियोग पत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि विवाद सर्वोच्चसम्म पुगेको हो ।
सुरुमा उक्त रिट दरपिठ भएको थियो । पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो ।
दर्ता भएपछि सर्वोच्चले पोखरामा दर्ता भएको जाहेरी देखि रुपन्देही जिल्ला अदालतमा रहेको अभियोग पत्रसम्म मगाउने आदेश गरेको छ । त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको अध्ययन प्रतिवेदन पनि पेस भएको छ । यी प्रमाणहरूको आधारमा दुवै पक्षको बहस सुनेर सर्वोच्चले निर्णय दिने छ ।
सर्वोच्चले रिट खारेज गरेमा गृहमन्त्री लामिछानेले तत्कालका लागि सफाइ पाउनु हुने छ भने अन्तरिम आदेश जारी गरेमा उहाँको मन्त्री पद धरापमा पर्ने छ ।