काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानविन विशेष समितिले कानूनी परामर्श सुरू गरेको छ ।
बुधबार संसद भवन परिसरमा बसेको संसदीय छानविन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोगलगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो । बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीसँग परामर्श गरेको बताउनुभयो ।
उहाँले कानूनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषयलगायतका प्रश्नमा छलफल भएको सुनाउनुभयो । नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमालचन्द्र अर्याल र नेपाल कानून आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल भएको क्षेत्रीले बताउनुभयो ।
आन्तरिक प्रतिवेदनहरु संकलनका काम जारी रहेको पनि उहाँले सुनाउनुभयो । उक्त समितिलाई २९ वटा समस्याग्रस्त सहकारीमाथि छानबिनको कार्यादेश रहेको छ ।