काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ ।
संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको छानबिन समितिले सुझावससहित आन्तरिक कार्यविधि सर्वसम्मतले पारित गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिनुभयो ।
विगतमा विभिन्न छानबिन समिति, जाँचबुझ आयोग लगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गरिएकोमा अधिक संख्यामा पत्र प्राप्त भएको र बाँकी प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।
उहाँले आगामी दिनमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र समस्याग्रस्त सहकारीका व्यवस्थापन लगाएतका निकायहरुसंग समितिले छलफल गर्ने उल्लेख गर्नुभयो। सहकारी प्रकरणमा सम्बन्धीत व्यक्तिहरुसँग सोधपुछ गर्ने र थप अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सिफारिस गर्ने उहाँको भनाइ छ ।
गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।