काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा पुग्नुभएको छ ।
उहाँलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरेका छन् ।
राष्ट्रपति पौडेल भोलि जेनेभा प्रस्थान गर्ने तालिका रहेको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । त्यहाँ उहाँले अन्तर्राष्ट्रिय श्रम संगठन आइ.एल.ओको आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धको उद्घाटन समारोहमा भाग लिने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेलले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्नुहुने छ । सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्धघाटन मञ्चलाई सम्बोधन जेठ ३१ ग्ते नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले भेटवार्ता गर्ने कार्यक्रम तय छ ।
त्यसैगरी राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नुहुने छ । स्विट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नुहुने छ ।
यस्तै उहाँले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । असार ३ गते जर्मनी समकक्षीसँग औपचारिक वार्ता गर्नुहुने छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कने तालिका रहेको छ ।