काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बोलाईएको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि सरकारद्वारा संसदमा प्रस्तुत बजेटमाथि आजबाट छलफल हुने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव राख्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको वार्षिक आयव्ययको विवरण बजेट ल्याएको थियो । जेठ १५ गते संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत बजेटका लागि चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रकम विनियोजन गरेको बताउनु भएको थियो ।