काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झुटो आरोप लगाएकामा केपी शर्मा ओलीले माफी माग्नुपर्छ कि पर्दैन भनेर एमालेलाई प्रतिप्रश्न गर्नुभएको छ ।
सोमबार बालुवाटारमा बसेको तीन दलको बैठकमा एमाले नेताहरुले कांग्रेस नेताहरु खासगरी महामन्त्री शर्माको अभिव्यक्तिमा आपत्ति जनाउनुभएको थियो । एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति अनावश्यक आरोप लगाएको भन्दै एमाले नेताहरुले कांग्रेसले लिखित र सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताउनुभएको थियो ।
गिरिबन्धु टि–इस्टेटको २४३ विघा भन्दा बढी जग्गा सट्टापट्टा गर्न ओली नेतृत्वको सरकारका पालामा बनेको कानुनलाई खारेज गरेको सर्वोच्चको फैसलाको पूर्णपाठमा त्यो निर्णयलाई नीतिगत भ्रष्टाचार भनिएको छ । यो सार्वजनिक भएपछि फैसलामाथि नै प्रश्न उठाउने क्रममा ओलीले १४ जेठको संसदीय दलको बैठकमा कांग्रेसमाथि कमिसन खाएर ७० विघा सट्टापट्टाको नाममा बिक्री गर्न दिएको आरोप लगाउनुभयो ।
प्रमुख तीन दलको शनिबार बसेको बैठकमा एमाले अध्यक्ष ओलीले अनावश्यक लाञ्छना लगाएको भन्दै आपत्ति जनाउनुभएको थियो । आइतबार कांग्रेसले गरेको प्रदर्शनमा महामन्त्री शर्माले यो मुद्दामा थप चर्कोसँग उठाउनुभयो ।