काठमाडौं । सरकारले प्रतिपक्षीको अवरोध जारी नै रहेपनि सदनबाटै आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट ल्याउने तयारी गरेको छ ।
कांग्रेसको निरन्तर अवरोधका कारण अध्यादेशबाट बजेट ल्याउने चर्चाका बीच बजेट सार्वजनिक गर्न संयुक्त सदनको बैठक तय भएको छ ।
आजको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजे दुवै सदनको संयुक्त बैठकमा उपस्थितिका लागि सांसदहरूलाई आग्रह गर्नुभएको छ ।
सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्ने जानकारी गराउनुभयो । अर्थमन्त्री पुनले १९ खर्बमाथिको बजेट ल्याउने तयारी गर्नुभएको छ ।
आज संसद बैठक बाहिर पत्रकारसँग कुरा गर्दै सत्तारुढ प्रमुख घटक एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि संसदबाटै बजेट ल्याइने बताउनुभयो ।
प्रतिपक्षी दलहरूको निरन्तर अवरोधबीच आज प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१–८२ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ ।