काठमाडौं । नेपाली कांग्रेसले आज सहकारीको रकम हिनामिना तथा ठगीविरुद्ध आज प्रदर्शन गर्ने भएको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गरेको थियो।
सहकारी बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर कांग्रेसले उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न लागेको हो। उपत्यकापछि क्रमशः प्रदेश र जिल्ला तहमा पनि आन्दोलन गर्ने कांग्रेसको तयारी छ।
विभिन्न सहकारीबाट करिब पाँच खर्ब रुपैयाँ हिनामिना भएको निष्कर्ष कांग्रेसले निकालेको छ। यही विषयमा संसदमा अवरोध गर्दै आएको कांग्रेसले सरकार गम्भीर नबनेपछि आन्दोलन गर्नुपरेको बताएको छ।