काठमाडौं । माओवादी केन्द्रका नेता सुदन किराँतीले संसद पुर्वाग्रहको थलो बनेको बताउनुभएको छ ।
पूर्वमन्त्रीसमेत रहनुभएका किराँतीले प्रतिनिधि सभा नागा जोगीहरु भेला हुने कुम्भ मेलाजस्तो देखिएको स्पष्ट पार्दै कुनै पनि बौद्धिक, नीतिगत कामहरु नभएको टिप्पणी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता किराँतीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने र सरकारले नैतिकताका आधारमा छानबिन समिति बनाउन मार्ग प्रशस्त गरिदिनुपर्ने नै अहिलेको मध्यमार्गी बाटो भएको स्पष्ट पार्नुभयो ।
यस्तै नेता किराँतीले नैतिकता देखाएर जनता र देशलाई आशा जगाइदिन रास्वपा पार्टी र गृहमन्त्रीलाई अनुरोध गर्नुभएको छ ।
सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री तथा रास्वपाका सभापति लामिछानेको प्रत्यक्ष संलग्नता रहेको भन्दै कांग्रेसले समिति गठनको माग गरिरहेको छ भने सरकारले गृहमन्त्रीको संलग्नता नरहेकाले समिति गठनको आवश्यक नै नभएको भन्दै पन्छिरहेको छ ।
सत्तापक्ष र प्रतिपक्षको टकरावका कारण संसद लगातार अवरुद्ध भइरहेको छ । संसदको बैठक भोलि आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
यस्तै नेता किराँतीले देश र जनताका लागि काम गर्ने भन्दा पनि नेताहरु अहिले आफ्नो कमजोरी छोप्न र आफैलाई पोस्नतर्फ लागिपरेको आरोप लगाउनुभयो ।