काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संसद् अवरोध कायम राख्ने स्पष्ट पारेको छ ।
मंगलबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफलका लागि बोलाएको बैठकमा कांग्रेसले सो कुरा बताएको हो ।
बैठकमा कांग्रेसकी सचेतक सुशीला थिङले पार्टीको संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने उहाँको भनाई थियो ।
यसअघि सभामुख घिमिरेले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफलका साथै आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको बताउनुभएको थियो । राजनीतिक दलहरूबीच सहमति नहुँदा संसद्का बिजनेस प्रभावित हुने देखिएकोमा घिमिरेले चिन्ता व्यक्त गर्नुभएको थियो ।
बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसद् बैठकमा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्ने माग दोहोर्याउनुभएको थियो ।
बैठकमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूचीबारे जानकारी दिनुभएको थियो । उहाँले नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी गराउनुभएको थियो ।