काठमाडौं । सत्ता र शक्तिको सन्तुलन कायम राख्न साना पार्टीभित्र खेल्न शुरु गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली सफल भएको विश्लेषण हुन थालेको छ ।
प्रधानमन्त्री बन्न र नयाँ समिकरण निर्माण गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सक्रिय भूमिका खेलिरहेको चाल पाएसँगै जसपा नेपालमाथि प्रहार भएको धेरैको बुझाई छ । यद्यपि नेकपा एसमाथि पनि नजर कायमै छ । सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकमा सांसद प्रेम आलेलगायतहरु झोक्किएर हिडेको विषय पनि बाहिरिएको छ । प्रचण्डले जसपा नेपाल फुटाएको आरोप लागिरहेका बेला पार्टीका नेता एवं सांसद देवेन्द्र पौडेलले ईन्कार गर्नुभएको छ ।
नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले पार्टीभित्र कुनैपनि मतभेद नरहेको स्पष्ट पारेको छ । यद्यपि पार्टीभित्र एक पंक्तिले अध्यक्ष नेपाललाई झस्काइरहेका छन् । कतिपयले अहिलेको अवस्थामा सरकारको समर्थन फिर्ता लिनुपर्ने अडान लिएका छन् भने अधिकांशले समर्थन कायम राखेरै जानुपर्ने पनि बताएका छन् । ससाना पार्टीलाई टुक्र्याएर समर्थन कायमै राख्ने विषय भ्रम मात्रै रहेको नेकपा एसको ठहर छ । केही दिनका लागि टिकेपनि अरुको पार्टी फुटाएर दीर्घकालीन समाधान खोज्नु भ्रम मात्रै रहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाको भनाइ छ ।
जसपा नेपालबाट विद्रोह गरेर गएका महासचिव मोहम्मद इस्तियाक राईले पार्टी विद्रोहको मुख्य दोषी उपेन्द्र रहेको दाबी गर्नुभएको छ । उहाँले विभिन्न क्षेत्रको प्रतिनिधित्वलाई स्वीकार्न नसक्दा उपेन्द्र एक्ँिलदै गएको बताउनुभयो ।
माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा गठन भएको ११ महिना नपुग्दै भविष्य अन्योल देखिएको छ । सत्ताघटक जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएसँगै मोर्चा के हुने हो भन्ने प्रश्न खडा भएको हो । समाजवादी लक्ष्य तय गर्ने उद्देश्य राखेर गत वर्ष असार ४ गते राष्ट्रिय सभा गृहमा सत्ता घटक माओवादी, जसपा नेपाल, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेका विप्लव नेतृत्वको नेकपा मिलेर मोर्चा गठन गरेका थिए । जसपा विभाजनले स्थिति गम्भीर रहेको मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले बताउनुभएको छ ।