काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
मुख्यमन्त्री जोखबहादुर महरासँग भएको छलफलपछि उहाँले सोमबार मन्त्रालयमा गएर काम थाल्नुभएको हो ।
२५ चैतमा मन्त्री नियुक्त हुनुभएका अहिरलाई मुख्यमन्त्रीले ६ वैशाखमा कृषि मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो। सरकार गठनका क्रममा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति भएको थियो । तर एउटा मन्त्रालय मात्र दिएको भन्दै जसपाले सरकार छाड्ने निर्णय गरेपछि ९ वैशाखमा राजीनामा दिनुभएको थियो ।
मुख्यमन्त्रीले असन्तुष्टि सम्बोधन गर्दै जाने वचन दिएपछि पदभार सम्हाल्न तयार भएको उहाँले बताउनुभयो । ‘मुख्यमन्त्रीसँग शनिबार कुराकानी भएको थियो’,
उहाँले अहिले पदभार ग्रहण गर्नुस्, असन्तुष्टि सम्बोधन गर्दै जाउँला भनेपछि सहमत भएको हुँ ।’
जसपा आइतबार साँझ फुटेको हो । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । मन्त्री अहिरले भने कुन पक्षमा बस्ने भनेर अहिले कुनै निर्णयमा नपुगेको बताउनुभयो।