काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछानेबीच मुलुकमा विद्यमान मुद्धाहरुमा केन्द्रीत भएर सघन छलफल भएको छ । पछिल्लो समय संसदमा प्रतिपक्षी दल नेपाली कांग्रेसले पटकपटक उठाइरहेको सहकारी पीडितहरुको मुद्धामा कसरी अघि बढ्ने विषयमा समेत छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध खुलाउन कांग्रेसले राखेको माग समेतमा गम्भीर बन्नुपर्ने धारणा राख्नुभएको थियो । माओवादी केन्द्रका सांसद राजन दाहालले समग्र सहकारीका पीडकहरुलाई कारबाहीको दायरामा ल्याउने गरी समिति निर्माण हुनुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको बताउनुभयो ।
सत्ता समिकरणमा उलटपुलट हुने हल्लाका बीचमा प्रधानमन्त्री प्रचण्ड कांग्रेसको मागप्रति नरम भएको देखिएको छ । उहाँले एमाले अध्यक्ष ओलीको रहोवरमा गृहमन्त्री लामिछानेलाई सहकारी मुद्धामा छानबिन गर्न समिति बनाउनुपर्नेमा तयार रहनुपर्ने बताइसक्नुभएको छ । अहिलेको सरकारमा निर्णायक शक्तिका रुपमा रहेको रास्वपाले समिति निर्माणमा बाधा पुर्याउँदै आएको छ । कांग्रेस सांसद रामहरि खतिवडाले पीडक नै राज्यको नियामक निकायमा प्रवेश गरेकोले छानबिन समिति आवश्यक परेको जिकिर गर्नुभयो ।
नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले कांग्रेसले समिति बनाउनका निम्ति कुनै अमुख एक व्यक्तिमाथि हाबी हुन नमिल्ने बताउनुभयो । समग्र पीडितहरुका समस्यालाई निराकरण गर्न आवश्यक रहेको बताउँदै उहाँले सरकार गम्भीर भएर लागेको पनि उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी प्रकरण दिनानुदिन जटिल बन्दै गएकोले कांग्रेसले माग गरे बमोजिम संसदीय छानबिन समिति बनाउनुपर्नेमा जोड दिनुभएको छ । देशभरी सहकारीको समस्या विकराल बनेकाले सहकारी समस्या समाधान गर्नका लागि विशेष योजना ल्याउने सरकारको तयारी छ । कुनै दलका नेताको नाम उल्लेख नगरी सहकारी अनियमितताको छानबिन समिति गठनका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने समेत तयार भएको बताइएको छ ।