काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेशीको दबाबमा सत्ता समीकरण फेर्दै हिँडेको आरोप लगाउनुभएको छ ।
पार्टीनिकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतवार काठमाडौंमा आयोजना गरेको महिला भेलामा उहाँले यस्तो आरोप लगाउनुभएको हो । अध्यक्ष लिङदेनले प्रधानमन्त्री प्रचण्डको प्राथमिकता सत्तामात्रै रहेको आरोपसमेत लगाउनुभयो ।
सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काममात्र ठूला दलहरुले गरिरहेको उहाँको आरोप थियो।
अध्यक्ष लिङदेनले देशलाई लुटाहाहरुबाट मुक्त गराउन आफ्नो पार्टीले मात्रै इमान्दार भएर पहल गरिरहेको दावी गर्नुभयो । उहाँले मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउनेतर्फ लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
अध्यक्ष लिङदेनले आफूहरुले गत निर्वाचनअघि नै देशको सरकार बनाउने निर्णय नेपालीको हातमा हुनुपर्छ भन्ने एजेण्डा बोकेको र त्यसलाई कार्यान्वयनमा लैजान प्रयासरत रहेको बताउनुभयो ।