काठमाडौँ । उपनिर्वाचनका लागि आजदेखि मौनअवधि सरु भएको छ ।
यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि आजदेखि कुनै पनि प्रकारका प्रचारप्रसार गर्न पाइने छैन ।
निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् गएराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आचारसंहिता अनुसार मौन अवधि शुरु भएपछि राजनीतिक दल र उम्मेदवारले कुनैपनि प्रचार गर्न र भोट माग्न पाउने छैनन्। आचारसंहिताको पालना गर्न आयोगले आग्रहसमेत गरेको छ।
एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतिय माध्यम र सामाजिक सञ्जालबाट पनि मत माग्न र प्रचार गर्न नपाइने उल्लेख छ।
त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइनेछैन। यसैबीच आयोगले उपचुनावमा मतदाता परिचय पत्रसँगै अन्य जुनसुकै परिचय पत्रबाट मतदाताले मतदान गर्न सक्ने जनाएको छ।