काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा सबैथोक बिग्रने र भत्किने मात्रै नभएको बताउनुभएको छ । अनेक दुःख र राजतन्त्रको प्रहार सहेर यहाँसम्म आइपुग्दा सानासाना कुरामा बाटो समात्ने दिशामा अघि बढेको बताउनुभयो ।
जनसम्पर्क समिति क्यालिफोर्निया (अमेरिका) च्याप्टरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सबै कुरा बिग्रियो भन्दै भगवान र चमत्कारप्रति जान खोज्ने विषय गलत रहेको बताउनुभयो ।
‘मेचीदेखि महाकालीसम्मै पुगेँ । तलका वडा र गाउँपालिकामा मान्छेले राम्रो काम गरेका छन् । तर, सामाजिक सञ्जालमा लेख्ने कुराले देश डुबिसक्यो खत्तम भयो भन्ने भाष्य बनाइएको छ । पूर्व र पश्चिमको मान्छेलाई यही लाग्छ । जसले नागरिकको कन्फिडेन्स कमजोर भएको छ । यसबाट हुने रिक्तता र नैराश्यताबाट शक्ति आर्जन गर्छु भन्ने सोच राम्रो होइन । नागरिकलाई आशावादी बनाउनुपर्छ,’ थापाले भन्नुभयो, ‘साना कुरामा सही बाटो समातिरहेका छौं । जसले जहाँबाट भए पनि सहयोग गरे हुन्छ । नेपालमा राम्रो वातावरण चाहिएको छ । यस्तो वातावरण बनाउन सबैले सहयोग गर्नुपर्छ । तर सबै कुरा बिग्रियो भन्दै भगवान र चमत्कारप्रति जान खोज्ने विषय गलत छ ।’
त्रिविको उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डाबाट माथि उठ्न यसपटक प्रधानमन्त्रीसहित आफूहरूले उल्लेख्य सहयोग गरेको पनि बताउनुभयो ।
धेरै दुःख सहेर आजको राजनीतिक अवस्थासम्म आएको भन्दै थापाले कांग्रेसको सुधारमा विदेशमा रहेका साथीहरूले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । नेपालको बहसलाई नयाँ ढंगले लिएर जान जरुरी र रहेको भन्दै देश बाहिर रहेका नागरिकको पनि सहयोग हुनुपर्ने उहाँको भनाइ छ ।
‘दुःख सहेर, राजतन्त्रको प्रहार सहेर हामी यहाँसम्म आएका छौं । यसलाई सम्हाल्ने बेला आएको छ । जनसम्पर्क समितिका साथीहरूले गर्ने मद्दत भनेको कांग्रेसको सुधारमा बल र तागत पुर्याएको हो,ु उहाँले भन्नुभयो, ुगाली मात्रै गर्ने बहसको लागि नेपालभित्रै काफी छन् । विदेशमा बसेकाको साथ र सहयोग भत्किएको र बिग्रिएको कुरालाई बनाउनुपर्छ भन्ने पोजिटिभ कुरा चाहिएको छ ।’
नेपालमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा अब रिफर्ममा मात्रै होइन रिभोलुसन नै चाहिएको उनले बताए । नेपाल नेपालभन्दा बाहिर पनि फैलिएको छ भन्ने बहस छ । बाँकीलाई कसरी जोड्ने? सरकारी पूर्वाधारमा गरिने अर्बौको खर्चलाई व्यवस्थित र व्यवहारिक बनाउनुपर्ने उनले बताए । ‘अहिलेकै रफ्तारमा सिक्टा सिचाइ आयोजना अघि बढ्ने हो भन सकिन अर्को ५० वर्ष लाग्ने रहेछ । त्यतिखेरसम्म सिचाइ लाग्ने खेत घना वस्तीमा परिणत हुने देखिन्छ,’ थापाले भन्नुभयो, ‘काठमाडौंमा बन्ने बिल्डिङमा अर्बमा पैसा हालिएको छ । यस्तो पैसा सिक्टा सिचाईं जस्ता आयोजनामा हाल्ने हो भने हामी अर्कै बाटोमा जान सक्छौं ।’
बहस यस्ता विषयमा हुनुपर्नेमा देश खत्तम भयो सकियो मात्रै भनेर नागरिकलाई नै हतोत्साहित बनाउने बहस उचित नभएको थापाले बताउनुभयो । नेपालका सबै दलमा उम्मेदवार छनोटका विषयलाई पारदर्शी र व्यवहारिक बनाउन आवश्यक भएको पनि उहाँको भनाइ छ ।