काठमाडौं । कतारका अमिर राजा शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै हुनुहुन्छ । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्नुहुने छ ।
उहाँको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिनेछ।कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपतिले उहाँको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्नेछन्। थानीले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्नुहुने छ ।
वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् ।
नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भए पनि नयाँ सम्झौताबारेटुङ्गो लागिसकेको छैन। कतारी राजा दुईदिने भ्रमण सकेर बुधबार अपराह्न काठमाडौंबाट प्रस्थान गर्नेछन्।
कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट पहिलो पटक हुन लागेको उच्चस्तरीय भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै उनको भ्रमण सफल बनाउन सरकारी संयन्त्रले तयारी तीव्र पारेका छन्। कतारी राजा थानीको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको र अरु घेरामा अन्य सुरक्षाकर्मी रहने छन्।कतारी राजा आउने दिन मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ।