Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

आज १८औँ लोकतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज १८औँ लोकतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

  • मंगलवार, बैशाख ११ २०८१

  • 517
    SHARES

  • आज १८औँ लोकतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । आज मंगलबार १८औँ लोकतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

    २०५९ जेठ ८ गते विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्रबमोजिम ​२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले पुनःस्थापना गरे। त्यसैको सम्झनामा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।

    २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो।

    राजाले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे। २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो।

    २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएको राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलन आरम्भ भयो। २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शुरु भएको आन्दोलनले चैतमा गति लियो।

    नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए। चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए। आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे। यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ। यो दिन नै गणतन्त्रको जग बन्यो।

    २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्था निलम्बन गर्‍यो। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो। यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ।

    यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको अन्त्य गर्‍यो।

    २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। २०७४ सालमा संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो, जसअनुसार देशमा तीन तहको सरकार कायम छन्।


    मंगलवार, बैशाख ११ २०८१०७:०६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij