काठमाडौं । सत्तारुढ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आजदेखि सुरु हुँदै छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा बस्ने बैठक भोलिसम्म चल्ने छ भने बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना सहभागी हुनेछन्। बैठक बिहान ११ बजेदेखि सुरु हुने छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने नेता शेरधन राईले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्याङ संकल्प यात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्ने बताइएको छ। परिषद् बैठकमा यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको पनि समीक्षा गरिनेछ।