काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गर्यो । करिब २ घण्टापछि शुरु भएको बैठकमा कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए । सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राख्नुभयो । तर सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उहाँले समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गर्नुभयो । सभामुख घिमिरेले बैठक सञ्चालन गर्नका लागि प्रयास गरेपनि त्यो निरर्थक बन्यो ।
नेकपा एमालेले कांग्रेस संसदीय राजनीतिबाट विचलित हुँदै गएको र सत्ता छोड्नुको छट्पटीमा रहेको दाबी गरेको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लामो संसदीय अभ्यासमा रहेको कांग्रेसले संसदको मूल्य र मान्यतालाई आत्मसात गर्नुपर्ने बताउनुभयो । आफू सरकारमै रहँदा पनि गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न सक्ने कांग्रेसले वास्ता नगरेको उहाँको आरोप छ ।
नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबनुञ्जेलसम्म अडानबाट पछि नहट्ने दाबी गरेको छ । गृहमन्त्री लामिछानेले समेत स्वयं अनुसन्धानमा सहयोग गर्नुपर्ने कांग्रेसको तर्क छ । केही दिन अघि राज्य, व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री लामिछानेले दिएको प्रष्टिकरणले समेत कांग्रेसले चित्त बुझाएको छैन । नेपाली कांग्रेसका सांसद एवं समिति सभापति रामहरि खतिवडाले गृहमन्त्रीले समितिमा आएर झुक्याउँदै आफ्नो भनाइ राखेको दाबी गर्नुभएको छ । उहाँले प्रिप्लानका साथ त्यहाँ प्रष्टिकरण दिएको तर समितिले त्यो बोल्ने इजाजत नदिएको खतिवडाको भनाइ छ ।
दलहरुका निजी स्वार्थको भूमरीमा संसद परिरहेको छ । कसैलाई सत्ता हत्याउनु छ कसैलाई जोगाउनु छ । मुलुकको विकास र समृद्धिका नारालाई त दिनप्रतिदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गिज्याइरहेको छ । अझैपनि यहाँको राजनीति र ती पात्रहरुलाई संक्रमणकालले छुन सकेको छैन ।