काठमाडौं । कर्णाली प्रदेशमा नयाँ सरकार गठनमा सकस भएको छ । सत्तारुढ दलहरू एमाले र माओवादीबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा सरकार गठनमा सकस भएको हो ।
माओवादीका राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएको चार दिन हुँदा पनि नयाँ मुख्यमन्त्रीको दाबी प्रक्रिया सुरु हुन सकेको छैन ।
नेकपा माओवादी र एमालेबीचमा मन्त्रालयको भागबन्डामा कुरा नमिल्दा सरकार गठनमा ढिलाइ भएको हो । मुख्यमन्त्री शर्माले सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार राजीनामा दिएका थिए ।
शर्माले सभामुखसहित चार मन्त्रालय माओवादीले पाउनुपर्ने माग राख्दै आएका छन् । उक्त मागका कारण सत्ता साझेदार दल एमालेसँग सहमति जुट्न सकेको छैन । तर, नेकपा एमालेले भने पहिला सरकार गठनपछि मात्रै मन्त्रालयको भागबन्डाको टुङ्गो लगाउने बताउँदै आएको छ ।
एमालेले राखेको प्रस्तावमा भने माओवादी सहमत भएको छैन । माओवादीले सभामुखमा दाबी गर्दैै आएको छ । यसमा एमाले सहमत हुन सकेको छैन ।