काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गर्दै यसपालिको दसैं जो जहाँजहाँ छौं, त्यहीँत्यहीँ रहेर मनाउन अनुरोध गर्नुुभएको छ।
उहाँले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउँदै यिनलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेकामा जोड दिनुुभयो । चाडबाडमा ख्यालै नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता काम पनि उचित नभएको भन्दै उहाँले यस्ता अभ्यासलाई सच्याएर चाडपर्वलाई मितव्ययी र उचित बनाउन सबै सजग र सचेत रहनुपर्ने बताउनुुभयो।
अहिले कोरोना महामारीको यस विषम परिस्थितिमा दसैंलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्न सुझाव दिनुुभएको छ।
ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा संक्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दसैं मनाउन उनले सबैमा आग्रह गर्नुुभयो । संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखी प्रधानमन्त्री निवासमा हुने ‘बडा दसैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुुभयो ।