Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

रेशम र रञ्जितासँग प्रधानमन्त्री प्रचण्डको छुट्टाछुट्टै छलफल

रेशम र रञ्जितासँग प्रधानमन्त्री प्रचण्डको छुट्टाछुट्टै छलफल

  • मंगलवार, चैत्र २० २०८०

  • 1.6K
    SHARES

  • रेशम र रञ्जितासँग प्रधानमन्त्री प्रचण्डको छुट्टाछुट्टै छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

    बिहान रन्जितासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले दिउँसो रेशमसँग छलफल गर्नुभएको हो । छलफल नयाँ सत्ता समीकरण र प्रदेश सरकारका विषयमा केन्द्रित थियो ।

    रेशम र रन्जिताबीच मतैक्यता नहुँदा नाउपा वर्तमान सत्ता गठबन्धनमा आबद्ध छैन भने नयाँ सत्ता समीकरण अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार गठनमा अन्यौल छ ।

    संरक्षक चौधरीले प्रधानमन्त्री प्रचण्डले छलफलका लागि बोलाएपछि आफू गएको बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन र नयाँ समीकरणअनुसारको सरकारलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो ।

    तर आफूले आगामी २३ र २४ गते आफूले पार्टीको बैठक बोलाएको र बैठकले जे निर्णय गर्छ त्यसैअनुसार हुने बताएको जानकारी दिनुभयो। उहाँले प्रदेश सरकारलाई स्वायत्त भएर निर्णय गर्न दिन पनि आफूले प्रधानमन्त्रीलाई भनेको बताउनुभयो ।

    सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशमबीच विवाद बढ्दा नाउपा विभाजनको डिलमा छ । रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उहाँका पति रेशम त्यसको विपक्षमा छन् । यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरुबीच कुटाकुट भएको थियो ।

    कुटपिटमा संलग्न भएको भन्दै रञ्जिताले नाउपा गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गर्नुभएको छ ।


    मंगलवार, चैत्र २० २०८००२:०९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij