काठमाडौं । आज बडादशै मान्यजनको हातबाट टिका र जमरा ग्रहण गरिदैछ ।
नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।
उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् । अब यसवर्ष भनें टीका थाप्न जाने दैलाहरु सर्लक्कै घटेका छन्, अक्षताको परिधी र निधारको उपलव्धतामा कमी होला तर आशिष र संझनालाई त कुनै छेकवार पक्कै छैन ।
यस वर्ष विजया दशमीको टिकाका लागि उत्तम शुभसाइत आज बिहान १० बजेर १९ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर दसैँको दिन आफैमा शुभ रहने भएकोले टिका जमरा ग्रहणका लागि साइत खोज्न नपर्ने प्राध्यापक डा. गौतमको भनाई छ ।
घरतर्फ टिका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरु टिका थापेपछी नयाँ, बास्नादार नोटहरु हात हातमा लिएर हिंड्दछन् । ति नोटहरुमा लतपतिएको अक्षताको रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ, केही सम्झना आयो तपाइलाई ?
यो पावन पर्व हिन्दू धर्ममा मात्र सिमित नभएर एउटा सनातनी पर्व हो । यसलाई बौद्ध धर्मावलम्विहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छः हिन्दूहरू रातो टिका लगाएर नव दूर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बौद्ध अनूयायीहरू सेतो टिका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।
घरको मूल टिका लगाएर सुसुराली, मामाघर या ठूल बा, दाजू अनि अन्य मान्यजनकोमा पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टिका अनि जमरा लगाएर सपरिवार हिंडेका दृष्यले पनि हामी नेपाली पारीवारिक सौहार्दता र सामिप्यतामा कति विश्वास राख्छौं भन्ने कुरालाई प्रस्ट पार्दछ ।
वैदिक सनातन धर्मानूयायीहरूले दशैंको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथी अर्थात् विजयादशमीको दशौं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो ।
दशहराको अर्थ हो दशानन रावणको पराजय (दशानन अर्थात् दश . दस ंआनन . मुख) । आजैको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टिका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको विजयका रुपमा लिइन्छ ।
यसैबिच, विजयादशमीको टिका जमरा ग्रहण गर्दा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न जनस्वास्थ्यविदहरुले आग्रह गरेका छन् । कोरोना महामारीको संक्रमणका बीच मनाउन थालिएको विजयादशमी अन्तर्गत टिका जमरा ग्रहण गर्दा दूरी कायम गर्ने, मास्क लगाउने तथा सेनिटाइजरको प्रयोगमा विशेष जोड दिन उनीहरुको आग्रह छ ।