काठमाडौं। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ । यो आग्रहमा चिनियाँ पक्षबाट सकारात्मक प्रतिक्रिया आएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
चीनको सात दिने भ्रमण पूरा गरी आज बिहान काठमाडौं फर्किएका मन्त्री श्रेष्ठले उक्त जानकारी दिनुभएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भनन्ुभयो, ‘नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ ।’
चिनियाँ विदेशमन्त्रीको औपचारिक निमन्त्रणमा मन्त्री श्रेष्ठ चैत ११ गते चीन भ्रमणमा गएका थिए । भ्रमणको क्रममा उच्चस्तरीय भेटघाटसमेत गर्नुभएको थियो ।
मन्त्री श्रेष्ठका अनुसार बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)लाई अन्तिम रुप दिई कार्यान्वयन गर्नेबारे पनि दुई पक्षबीच छलफल भएको थियो ।
सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँहरूमा विद्युतीकरण गर्न, नेपालको काठमाडौं र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबीच सीधा बस सेवा पुनः सुचारु गर्न, नेपाल–चीन सीमाका केही क्षेत्रमा मल्टी फङ्सनल ल्याब स्थापना गर्न, घाँस, तरकारी तथा फलफूलहरूलगायतका नेपाली वस्तुहरूको निर्यातमा सहजीकरण गर्न तथा नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पूँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।