अफगानिस्तानको राजधानी काबुलनजिकैको एक शैक्षिक संस्थालाई लक्ष्य गरेर गरिएको आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको बताइएको छ । अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनलाई लक्षित गरेर भएको सो आत्मघाती आक्रमणमा मृत्यु हुनेको संख्या ३० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
हिजो भएको सो हमलामा परी हिजो नै २२ जनाको मृत्यु भएको बताइएको थियो । आक्रमणमा परी कम्तीमा पनि ७० जना घाइते भएका बताइएको छ । आज मृतकको संख्या बढेको हो । काबुलनजिकैको दश्त–ए–बार्ची क्षेत्रमा सो हमला भएको हो । उक्त क्षेत्रमा शिया मुसलमानको बाक्लो बस्ती रहेको छ ।
सो स्थानको भवनलाई लक्षित गरी हिजो आक्रमण भएको थियो ।एकजना आत्मघाती व्यक्तिले सो भवनमा पुगेर आक्रमण गराएको बताइएको छ । ती व्यक्ति आत्मघाती भएको थाहा पाएर सुरक्षाकर्मीहरुले रोक्न खोज्दाखोज्दै विस्फोट गराएको बताइएको छ ।