काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गर्नुभएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बदनाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछाने सहकारीको अनियमिततामा मुछिएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ ।
तर ओलीले भने सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको बताउनुभयो।
मंगलबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सो कुरा बताउनु भएको हो ।
रवि लामिछाने र उनको पार्टी कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको दाबी गर्दै ओलीले यसलाई महत्व दिन आवश्यक नभएको बताउनुभयो ।