Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एक्स्ट्राटेक ओभल  क्रिकेट मैदानमा आज लेजेन्ड्स कप हुँदै, पारस खड्कादेखि प्रमोद खरेलसम्म मैदान उत्रने

एक्स्ट्राटेक ओभल  क्रिकेट मैदानमा आज लेजेन्ड्स कप हुँदै, पारस खड्कादेखि प्रमोद खरेलसम्म मैदान उत्रने

  • सोमवार, फाल्गुण २८ २०८०

  • 1.0K
    SHARES

  • एक्स्ट्राटेक ओभल  क्रिकेट मैदानमा आज लेजेन्ड्स कप हुँदै, पारस खड्कादेखि प्रमोद खरेलसम्म मैदान उत्रने
    काठमाडौं । रुपन्देहीमा निजी लगानीमा आठ महिनामा निर्माण सम्पन्न गरिएको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको आज उद्घाटन गर्न लागिएको छ । गैरआवासीय नेपालीको रूपमा अस्ट्रेलियामा रहनुभएका गुल्मीका विनोद कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा वडा नम्बर १७ मा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण गर्नुभएको हो । 
     
    गत जेठ ३० गते शिलान्यास गरिएको उक्त रंगशाला आठ महिनामा सम्पन्न भएपनि आफूहरूले वर्षायाम र दशैं तिहारका कारण ४ महिना मात्रै काम गरेर सम्पन्न गरेको रङ्गशाला निर्माता कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले अष्ट्रेलियाबाट सिकेको समयको महत्वका आधारमा काम गर्दा छोटो समयमा निर्माण सम्पन्न गर्न सफल भएका हौं ।’ रंगशाला खेल्न तयार भए पनि अझै केही भौतिक निर्माण भने बाँकी रहेको एक्स्ट्राटेक ओभलका निर्देशक कुँवरले बताउनुभयो। 
     
    अस्ट्रेलियामा सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्ने कुँवरले निजी स्रोतबाट उक्त रंगशाला निर्माण गरेका हुन्। रंगशालाको स्थायित्वका लागि गुरुयोजना बनाइसकेको र निर्माण सम्पन्न भएपछि व्यावसायिक रूपमा अघि बढाएर नमुना योजना बनाउने उहाँले बताउनुभयो। ‘मैदानमा प्यारापिट र अन्य संरचना पूरा हुँदा ४० करोड खर्च हुने अनुमान छ। प्यारापिट बनाउने काम सुरु भइसकेको छ। यसका लागि करिब १८ करोड खर्च हुनेछ,’ उहाँले भन्नुभयो।
     
    आज लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा कांग्रेस सांसद चन्द्र भण्डारी एमाले सांसद गोकर्ण विष्ट लगायतको आतिथ्यतामा रङ्गशाला उद्घाटन गर्न लागिएको छ ।
     
    रंगशाला उद्घाटनको दिन आज सोमबार चार टोलीबीच तिलोत्तमा एक्स्ट्राटेक लेजेण्ड्स कप क्रिकेट प्रतियोगिता हुनेछ । प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबीच प्रतिस्पर्धा हुनेछ । 
     
    नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टोलीको कप्तानी गर्नुहुने छ । सन् १९९६ को कप्तानी एलबी क्षेत्री, रेस्ट अफ नेपालको कप्तानी विनोद दास तथा रुपन्देही लेजेन्ड्सको कप्तानी हरिबहादुर थापाले गर्ने बताइएको छ ।  

    नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसिसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो। यो टोलीका १४ मध्ये १२ खेलाडी लिजेन्ड्स ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा उत्रिनेछन्।

    यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्नेछन्। पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन्। २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका आठ खेलाडी अहिले विदेशमा छन्। सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीसँगै हङकङमा छन्।

    त्यसैगरी नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोलीबीचको कम्बिनेसन गराएर रेस्ट अफ नेपाल बनाइएको छ। विनोद दासको कप्तानीमा रहेको रेस्ट अफ नेपाल टोलीमा नेपालबाट अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडी रहेका छन्।

    हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहित अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडीहरू रहेका छन्।

    नेपाली महिला टोलीले २००७ मा मलेसियामै भएको एसिसी कप प्रतियोगिता खेलेको थियो। सो टोलीका चार खेलाडीले यस तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्नेछन्। नितु थापा रुपन्देही लिजेन्ड्स, ममता थापा विश्वकप २०१४, नीरा राजोपाध्याय लिजेन्ड्स ९६ र सीता रानामगर रेस्ट अफ नेपालबाट खेल्ने छिन्। त्यस्तै, गायक प्रमोद खरेलले रेस्ट अफ नेपाल, बद्री पंगेनीले विश्वकप २०१४ र कर्पोरेटका प्रतिनिधित्व राजेन महर्जनले लिजेन्ड्स ९६ बाट खेल्नेछन्।

    नेपालका पूर्व क्रिकेट खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका ब्रान्ड एम्बेसडर हुनुहुन्छ । 
     
    उद्घाटनको अघिल्लो दिन आइतबार एक्स्ट्राटेक ओभल प्रालिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पहिलो पुस्ताका महिला र पुरुष खेलाडीलाई सम्मान गरेको थियो।
     
     
     
     


    सोमवार, फाल्गुण २८ २०८००८:२७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij