काठमाडौं । राप्रपाको एक समूहले पार्टीका नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेपछि शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
आइतबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा पूर्वएआईजीसमेत रहेका कार्यसम्पादन समिति सदस्य श्रेष्ठलाई पार्टी कार्यालयभित्रै कुटपिट भएको थियो ।
पार्टीको कार्यसम्पादन समिति बैठक चलिरहेकै बेला खाना खाने समयमा श्रेष्ठमाथि एक समूहले कुटपिट गरेका हुन् । नेता दीपकबहादुर सिंहले श्रेष्ठलाई आक्रमण गर्नेहरू फरार रहेको बताउनुभयो । आक्रमणकारीलाई खोजी गर्न प्रहरीलाई जानकारी गराएको नेता सिंहले बताउनुभयो ।
स्रोतका अनुसार कार्यसम्पादन समितिको बैठकमा छलफलका क्रममा नेता विक्रम पाण्डेमाथि विभिन्न प्रश्न उठेको भन्दै आलोचना भएको थियो । सोही क्रममा श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारमा संलग्न रहेको भन्दै पार्टी बचाउमा लाग्नुपरेको बताउनुभएको थियो ।
त्यसपछि आक्रोशित हुँदै पाण्डे बैठकस्थलबाट बाहिरिएका थिए । त्यसलगत्तै श्रेष्ठमाथि आक्रमण भएको बताइएको छ ।