काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को आह्वानमा पदाधिकारी बैठक बस्दै छ ।
बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने तय भएको कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । बैठकले राष्ट्रियसभाको अध्यक्षको उमेदवार चयन गरिने उहाँले जानकारी दिनुभयो ।
राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति आज दिउँसो बस्ने राष्ट्रियसभा बैठकमार्फत घोषणाा हुँदैछ । यही फागुन २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन गरिने कार्यतालिका घोषणा गर्न लागिएको हो ।
सत्ता गठबन्धनको सहमतिअनुसार अध्यक्ष माओवादीले पाउनेछ । अध्यक्षका लागि नारायण दाहाल, हाल राष्ट्रियसभा उपाध्यक्ष रहेकी उर्मिला अर्याल र झक्कु सुवेदी आकांक्षी रहेका छन् भने दाहालको सम्भावना बलियो देखिएको बताइएको छ ।