काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आफूहरु प्रतिपक्षमै रहने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका लोहनीले आफूहरु सरकारमा सहभागी नभई शसक्त प्रतिपक्षको भुमिकामा रहेर सरकारलाई दवाव र झकझक्याउने काम गर्ने स्पष्ट पार्नुभयो ।
यस्तै उहाँले अहिलेको गठबन्धन स्थायित्व हुने कुनै पनि आधार नदेखिएको बताउँदै यो सरकारले पनि देश र जनताका लागि केहि नगर्ने स्पष्ट पार्नुभएको छ ।
प्रचण्ड नेतृत्वको सरकारले एक वर्ष भन्दा धेरै समय भइसक्दा पनि देशका लागि खास उपलव्धिमुलक केहि पनि नगरेको नेता लोहनीको आरोप रहेको छ ।
नेता लोहनीले अहिलेको राजनीतिक संरचना देशको लागि नभएर मात्रै नेता र मन्त्रीहरुको स्वार्थको लागि भएको आराप लगाउँदै प्रचण्ड नेतृत्वको सरकार अस्थिर सरकार भएको स्पष्ट पार्नुभयो ।
यस्तै नेता लोहनीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने नपाउने कुरा यो एक वर्ष धेरै अवधिमा गरेका कामको आधारमा निर्धारण हुने बताउनुभएको छ ।
प्रधानमन्त्रीले यहि ३० गते प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको छ । यसको लागि माओवादी केन्द्रले विश्वासको मत लिँदा सबै सांसदहरूलाई उपस्थित हुन ह्वीप जारीसमेत गरिसकेको छ ।
यसैबीच देशको खस्किँदो अर्थतन्त्र उकास्न सबैभन्दा पहिला त अर्थमन्त्री वर्षमान पुनले, म इमानदार छु, कसैसंग पनि पैसा खान्न र भ्रष्टाचार गर्दिँन भन्ने कुरा सबैलाई विश्वास दिलाउनुपर्ने नेता लोहनीको भनाइ छ ।