काठमाडौं । नेपाल विद्यार्थी सङ्घको महाधिवेशन पक्षधर समूहले केन्द्रीय समितिको बैठक बहिष्कार गरेको छ। केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विधि मिचेर एकलौटी गरेको, समन्वयकारी र साझा नेतृत्वको व्यवहार गर्न नसकेको, क्याम्पस तथा जिल्लाहरूमा समेत तदर्थ समिति बनाउँदा पार्टीको सिफारिसलाई बेवास्ता गरेको, स्थानीय र क्रियाशील विद्यार्थीहरूको भावना कुल्चेको लगायतका आरोप लगाउँदै उनीहरूले बैठक बहिष्कार गरेका हुन्।
त्यसैगरी महाधिवेशन निर्धारित समयमा गर्ने सुनिश्चितता गर्न नमानेको, उठाउनुपर्ने शैक्षिक मुद्दाहरूबारे प्राथमिकता नदिएको, राजनीतिक विकृतिका विरुद्धमा खबरदारी गर्न नसकेको लगायतका कारणले बैठक बहिष्कार गर्नुपरेको उनीहरूले बताएका छन्।
बैठक बहिष्कार गरेपछि आयोजित पत्रकार सम्मेलनमा नेविसंघका केन्द्रीय सदस्यहरू सुवास पौडेल, करुणा कटुवाल, राजकुमार बस्नेत लगायतले तत्काल महाधिवेशन सुनिश्चित नगरेमा देशभर समानान्तर गतिविधि गर्ने चेतावनी समेत दिएका थिए। नेविसंघको संस्थापन पक्षले गठन भएको झण्डै दुई वर्षपछि विवादका बीच बैठक बसेको बताएको छ।
यस्ता छन् मागहरू
१. ने.वि.संघको १२ औं महाधिवेशन तोकिएको मिति भित्र सम्पन्न गरिनुपर्ने ।
२. केन्द्रीय समिति लगायत मातहतका सम्पूर्ण क्याम्पस समिति, विश्वविद्यालय समिति, जिल्ला समिति प्रदेश समिति, वैदेशिक समन्वय समिति तथा अन्य समितिहरूको निश्चित अवधिमा महाधिवेशन मार्फत नेतृत्व चयन गरिनुपर्ने ।
३. स्वतन्त्र विद्यार्थी युनियनलाई समय सापेक्ष, गतिशील र नवीनता प्रदान गर्न समयानुसार तालिम एवं प्रशिक्षण प्रदान गरिनुपर्ने ।
४. स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पूर्ण क्याम्पसमा हुने सुनिश्चितता गर्दै समयानुसार नियमित रुपमा सम्पन्न गर्न पहलकदमी चाल्नुपर्ने ।
५. स्ववियु परिषद्को अधिवेशन विधान बमोजिम समयावधि भित्र नै सम्पन्न गरी विधिवत् रुपमा नेतृत्व हस्तान्तरण गरिनुपर्ने ।
६. स्ववियुको प्रभावकारीताकको निम्ति स्ववियु समन्वय समितिको गठन बारे विधानमा उल्लेख गरिनुपर्ने ।
७. नेपाल विद्यार्थी संघमा लामो समयदेखि नेतृत्वदायी भूमिकामा रही कार्य गर्दै आएकाहरूको उचित मूल्याङ्कन गरी कार्यसम्पादन एवं विभिन्न विभाग गठन गरिनुपर्ने ।
८. नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको समयावधि÷म्याद सकिएको मितिले बढीमा ६ महिना ननाघ्ने गरी पार्टी नेतृत्वले विधानसम्मत नयाँ कार्यसमिति गठन गरिनुपर्ने ।
९. नेपाल विद्यार्थी संघको सम्पूर्ण गतिविधि तथा निर्णयहरू केन्द्रीय कार्यसमिति भित्र पारदर्शी एवं समन्वयकारी भूमिका निर्वाह गरी सञ्चालन गरिनुपर्ने ।