काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह गर्नुभएको छ ।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका, सरकारी जग्गा हिनामिनामा मुछिएका, नागरिकता र सहकारी ठगीमा विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह गर्नुभएको हो ।
‘अब यसो गर्न लगाऔं– आसन (सभामुखको आसन) को दाँया बस्ने होस् कि बाँया बस्ने होस् । काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालको झण्डा छोपेर घर पठाइदिऔं’ सांसद थापाले भन्नुभयो।
उहाँले अगाडि भन्न्ुभयो, ‘अनि सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔं । यति गर्न सके के होला ? निर्दाेष भएर फर्किएर आउनुहोला फूल माला लगाएर स्वागत गरौंला । दोषी भए दण्ड ब्यहोर्नुहोला ।’