काठमाडौं । संसदमा दिनहुँजसोका अव्यवहारिक घटनाहरुले निरन्तरता पाइरहेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा पनि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आफू किन राजीनामा दिने भन्दै आक्रोश व्यक्त गरेपछि एकपटक हंगामा भएको थियो । शाहीले जुम्लेली जनताबाट आलु र गोबरको गठबन्धनलाई परास्त गर्दै आफू विजयी भएको बताउनुभएको थियो । यतिमात्र होइन उहाँले मान्छे काटेर, गुडिरहेको बसमा बम फ्याँकेर नभइ जनताको सेवा गरेर सांसद भएको बताउनुभएको थियो ।
संसदमा यस्तै विषयको प्रतिक्षा गरिरहेको लाग्ने माओवादी केन्द्र के कम, घाँटी काटेर, बम हानेर भन्ने शब्द सुनिसकेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउनुभयो । यस्ता शब्दहरु संसदमा प्रस्तुत गर्न नपाइने उहाँको धारणा थियो ।
केही समयअघि नक्कली प्रमाणपत्रको आरोप लागेर प्रहरी हिरासतमा पुगेका कांग्रेस सांसद सुनिल शर्माले त्यतिबेलाको अपमानलाई बिर्सन सकेका छैनन् । माओवादी केन्द्रसँग आक्रोशित भइ हाल्ने उहाँले ज्ञानेन्द्र शाहीको समर्थन गर्दै हितराज पाण्डेलाई झपार्नुभयो । आफूलाई पनि हिरासतबाट आउँदा यस्तै व्यवहार भएको स्मरण गर्नुभयो ।
माओवादी केन्द्रकै सांसद माधव सापकोटाले पनि राप्रपासँग आक्रोश व्यक्त गर्दै यो व्यवस्थालाई अंगिकार गरेर सांसद, मन्त्री, सभामुखसम्म हुने फेरि विरोध गर्ने शैली गलत भएको तर्क गर्नुभयो । सबैभन्दा उन्नत व्यवस्था लोकतन्त्र नै रहेकाले यो मुलुकमा राजाको परिकल्पना गर्न नसकिने उहाँको धारणा थियो ।
संसदको गरिमालाई बुझेका कांग्रेस सांसद रामहरि खतिवडा भने सरकारका मन्त्रीहरुको चटक देखेर आजित बन्नुभएको छ । मन्त्रीहरु काम गर्न भन्दा पनि दाम कमाउनतिर लागेको उहाँको आरोप छ । पशुपतिको नियुक्तिदेखि लुम्बिनी र जहाज खरिद प्रकरणसम्म अनुसन्धान गर्नुपर्ने उहाँको धारणा छ ।
संसदलाई चलायमान बनाउनका निम्ति सत्तापक्ष र प्रतिपक्षको उत्तिकै भूमिका रहन्छ तर, नेपालको संसद एकअर्कालाई आरोपप्रत्यारोप गर्ने थलो बन्दै गएको छ । निर्माण गर्नुपर्ने कानूनहरु ओझेलमा छन्, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टीआरसी विधेयकलाई बोकेर हिड्नुभएको छ । त्यसमा पनि पूर्ण सहमति जुट्ने सम्भावना छैन । मुलुकलाई गति दिने थलो नै अनिर्णयको बन्दी बनेपछि विकास र समृद्धिको हालत कस्तो होला सहजै अनुमान गर्न सकिदैन र ?