काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुशासन प्रवर्दनको लागि सञ्चारमाध्यमले कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ ।
हिजो सिमपानी मिडियाको बार्षिक उत्सव तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ । सत्य तथ्य बाहिर ल्याएर पाठकलाई सही जानकारी दिनेमा सञ्चारमाध्यम प्रतिबद्ध हुनुपर्छ ।”

सबै कुरा प्राप्त भएर पनि सुशासन प्राप्त भएन भने त्यसको कुनै अर्थ नरहने भन्दै उनले आमनागरिकको चाहना सुशासन भएको उल्लेख गर्नुभयो । मुलुकमा सुशासन कायम हुन नसक्दा विदेश पलायन हुनेहरुको सङ्ख्या बढिरहेको समेत बताउनुभयो ।
नेपाली कांग्रेसका नेता एवं पालुङटार नगरपालिकाका पूर्वप्रमुख इञ्जिनियर दीपकबाबु कँडेलले मुलुकको विकासका लागि सञ्चारमाध्यमको ठूलो भूमिका रहेको बताउनुभयो ।
उहाँले सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य एवं पर्यटन व्यवसायी डा रामशरण थपलियाले बिग्रँदै गएको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
नेकपा (एमाले) गोरखाका नेता मोहन भट्टराईले राजनीतिक परिवर्तनमा सञ्चारमाध्यमको भूमिका सराहनीय रहेको बताए । नेपाली कांग्रेसका नेता एवं शिक्षाविद् युवराज बस्ताकोटीले सकारात्मक समाचार सम्प्रेषणका लागि नेपाली सञ्चारमाध्यम लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको सभापति सिमपानी मिडिया ग्रुपका अध्यक्ष बिमल भट्टले पछिल्लो समय सुचनाको भरपर्दो माध्यम डिजिटल पत्रिका रहेता पनि अनलाईन मिडिया लाई पनि मुलधारका मिडिया सरह राज्यले व्यवहार गर्नुपर्नेमा जोड़ दिनुभयो ।