काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायविरूद्ध मुद्दा दायर गरेपछि उनले प्रतिक्रिया दिएका छन् । मेलम्ची खानेपानी आयोजनामा चार करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै हिजो विशेष अदालतमा पूर्वसचिव उपाध्यायसहित १५ जना र दुइटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
पूर्वसचिव भीम उपाध्यायले आज सामाजिक संजालमार्फत आफूले डेढ वर्ष अघि अख्तियारमा पुगेर यसबारेमा आफ्नो लिखित प्रतिक्रिया दिएको बाएका छन् । उनले भने, ‘नेपाल जागेको बेला म सुतेको थिएँ। उठ्दा नेपाल सुतिसकेको छ। उठेपछि समाचार थाहा भयो, मुद्दा के हो विवरण बुझेपछि मेरो प्रतिक्रिया आउने नै छ । मैले डेढ वर्ष अघि अख्तियारमा पुगेर यसबारेमा आफ्नो लिखित प्रतिक्रिया दिएको थिएँ।’
उनले यो मुद्दा दायर गर्न पर्ने विषय नभएको र प्रोजेक्ट फिनान्सियल एवं टेक्निकल म्यानेजमेन्टको ईस्यु मात्र हो भनेर डेढ वर्ष अघि भनेको भएपनि अख्तियारले आफ्नो व्याख्यात्मक अधिकार प्रयोग गरेर मुद्दा दायर गरेको बताएका छन् । मुद्दामा रत्ती दम नभएको दाबी गर्दै उनले अधिकार हुनेले अधिकारको दुरुपयोग गर्न सक्ने भन्दै यसको दोष लिने कुरा नभएको बताए ।
उनले भनेका छन्, ‘म ३ करोड नेपालीका सामु ढुक्क सँग भन्छु, मबाट देशहितको काम बाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन । देशको हितमा काम गर्नु गल्ती हुँदैन त्यो पनि काकाकुल ४० लाख उपत्यकाबासीलाई पानी खुवाउने पवित्र काम गर्दा। मेलम्चीका कसैले मलाई १ रूपैमा कुनै बेला दिएको छन् भने भनुन् । मिटिंगमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन।रिटायर भएको नै अहिले ६ वर्ष बितिसकेको छ।’
तरपनि विशेष अदालतमा मुद्दा परिसकेकोले स्वदेश फर्कनासाथ अदालतमा आफ्नो सफाइका लागि उपस्थित हुने बताएका छन् । उनले अगाडि भनेका छन्, ‘मेरा सबै शुभचिन्तकहरूले मन खिन्न नपार्नुहोला। कहिले काहीँ भाइरस लागेर रुघाखोकी लाग्छ। सामान्य उपचार गर्नुपर्छ । मेरो हकमा यो मुद्दामा रौँ बराबरको पनि दम छैन ।’
उनले बोर्डको अध्यक्षको कुनै कार्यकारी अधिकार नहुने भन्दै प्रोजेक्ट व्यवस्थापनले विज्ञहरूको सिफारिसमा ल्याएको प्रस्ताव अनुमोदन गरेको बताए । ८ अर्बको ठेक्कामा ७ अर्बको भ्रष्टाचार त्यो पनि सबै प्रक्रिया र बैंक ग्यारेन्टी लिएर दिएको पेश्कीको ब्याज गणना गरेर उक्त ब्याज र सोको स्याज समेत जोडी निकालिएको हिसाब रकम हानी नोक्सानी गरेको आरोपमा भन्दै उनले प्रश्न समेत गरेका छन् ।
यस्तो छ उनको सामाजिक सञ्जालमा लेखेको स्ट्याटस: