काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्नुभएको छ ।
आजको बैठकमा १३ सांसदहरूले प्रधानमन्त्रीसँग जनसरोकारका विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नुभएको हो । जसमा सांसदहरूले देशको अर्थतन्त्र, विकास निर्माण, जलवायु परिवर्तन, मुक्त कमैया समस्या, बैंक तथा वित्तीय क्षेत्रको समस्या समाधान लगायत प्रश्न प्रधानमन्त्री समक्ष राख्नुभएको छ ।
प्रश्नोत्तरको सुरुमै प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताउनुभयो । घटनाबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त हुनासाथ अध्ययन गरेर सम्बन्धितलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
यसैगरी प्रचण्डले बजेटमा कर्णाली प्रदेशले न्याय पाउने केही थप ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको जानकारी गराउनुभयो ।
यसैगरी प्रचण्डले नेकपा एमालेले मध्य पहाडी राजमार्ग संकल्पयात्रामार्फत प्रधानमन्त्रीलाई बुझाएका महत्त्वपूर्ण सुझाव कार्यान्वयनका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताउनुभयो ।
प्रतिनिधिसभामा प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले देशमा सुशासन कायम गराउने विषयमा सरकारले खुट्टा नकमाउने जिकिर गर्दै आफूलाई सरकार ढल्ला भन्ने कुनै पनि चिन्ता नरहेको तर्क गर्नुभयो ।