काठमाडौं । खानेपानी मन्त्री महिन्द्र राय यादवले अहिलेको सत्ता गठबन्धनमा कुनै पनि दरार नदेखिएको र आगामी पाँच वर्षसम्मै निरन्तर रहने बताउनुभएको छ ।
मुलुक, राष्ट्र, संविधान, शान्ती र संवृद्धिको लागि बनेको गठबन्धन भएकाले कोशी प्रदेशमा देखिएको एउटा कमजोरीले दरार नदेखिने स्पष्ट पार्नुभयो ।
नेपाली रेडियोको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले मूल्य र मान्यताका आधारमा बनेको गठबन्धनमा साझा न्युनतम कार्यक्रम रहेकोले गठबन्धनको मर्म र भावनालाई सबैले पालना गर्नुपर्ने बताउनुभएको छ ।
यस्तै भर्खरै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा दिएको उम्मेदवारी गठबन्धनको भावनाविपरित भएको पनि मन्त्री यादवको भनाइ छ ।
कोशीमा नेपाली कांग्रेसले भने माओवादीलाई धोका दिनु अत्यन्तै चिन्ता र सोचनीय विषय भएको बताउदै मन्त्री यादवले कांग्रेसले यो बारेमा छलफल र आत्मसमिक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
तर कोशीको नतिजाले गठबन्धनमा कुनै असर नपर्ने भएकाले यी कमीकमजोरीलाई समिक्षा गर्दै आगामी दिनमा दोहोरिन नदिने गरी अगाडि बढ्नुपर्ने मन्त्री यादवको तर्क रहेको छ । कोशीको नतिजाकै आधारमा माओवादीले गठबन्धन नतोड्ने पनि मन्त्री यादवको विश्वास रहेको छ ।