काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र राईले मुलुक र जनताको निम्ती एमाले मात्रै आवश्यक रहेको दाबी गर्नुभएको छ । नेपाली रेडियोको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै राईले मतदाताले एमालेलाई जिताउनपर्छ भन्ने आवश्यकताको महसुस गरेका कारण कोशी प्रदेशमा एमाले निर्वाचित भएको दाबी गर्नुभएको हो ।
राष्ट्रिय सभा निर्वाचनमा कोशीमा एमाले र राप्रपाबीच गठबन्धन भए पनि त्यहाँ एमालेकी उम्मेदवार रुक्मिणी कोइराला विजयी हुनुभएको छ भने राप्रपाका उम्मेदवार उद्धव पौडेल पराजित हुनुभयो ।
१९ सिटका लागि हिजो भएको निर्वाचनमा कोशीमा एक जनाबाहेक १८ जना सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।
कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी कोइराला विजयी हुनुभएको हो तर गठबन्धनकै उम्मेदवार कांग्रेसका कृष्ण सिटौलाले भने र राप्रपाका पौडेललाई हराउनुभयो । कोशीमा एमालेले राप्रपालाई र गठबन्धनले माओवादीलाई धोका दिएको विश्लेषण र टिप्पणी भइरहेका छन् ।
यस्तै एमाले नेता राइले भने गठबन्धनका उम्मेदवार सिटौलालाई हराउँन हरप्रयास गर्दागदै पनि असफल भएको बताउँदै राप्रपालाई योजनाबद्ध र सुनिश्चित ढंगले हराउन नखोजेको स्पष्ट पार्नुभएको छ । मतदान गोप्य हुने भएकाले कस्ले कस्लाई धोका दियो भन्न नमिल्ने तर्क गर्दै मतदाताले जस्लाई महत्वपूर्ण ठाने उसैलाइ मतदान गरेको र जिताएको पनि नेता राईको भनाइ छ ।
यस्तै माओवादी प्राविधिक रुपमा राष्ट्रिय सभामा पहिलो पार्टी बनेको आरोप लगाउनुभएको छ । जनताबाट विश्वास पाएर भन्दा पनि कहिले एमाले, कहिले कांग्रेसलगायतका दलसंग मिलेर दोहोरो चरित्रका कारण माओवादी पहिलो पार्टी बनेको नेता राइको आरोप रहेको छ ।
यस्तै ०८४ को निर्वाचनमा एमाले जनताको प्रिय र ठुलो पार्टी बन्ने पनि नेता राईको दाबी रहेको छ ।