Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कप क्रिकेट :  पुलिसको लगातार पाँचौं जित, मधेस ६ विकेटले पराजित

प्रधानमन्त्री कप क्रिकेट :  पुलिसको लगातार पाँचौं जित, मधेस ६ विकेटले पराजित

  • बुधवार, माघ १० २०८०

  • 617
    SHARES

  • प्रधानमन्त्री कप क्रिकेट :  पुलिसको लगातार पाँचौं जित, मधेस ६ विकेटले पराजित
    काठमाडौं ।  प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार पाँचौं जित निकालेको छ। बुधबार(आज)को खेलमा विभागीय टोली पुलिसले मधेस प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो। 
     
    काठमाडौंको मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेस प्रदेशले दिएको ९७ रनको लक्ष्य पुलिस क्लबले ४ विकेट गुमाएर मात्र १८.३ ओभरमा पुरा गर्‍यो। मधेस प्रदेशले २४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९६ रन बनाएको थियो। 
     
    पुलिसका लागि ओपनिङ ब्याटर सुनिल धमलाले २८ रन बनाए। २७ बलको सामना गरेका धमलाले २ छक्का र ३ चौका प्रहार गरे। यस्तै, अर्का ओपनर कुशल भुर्तेलले १९ रन बनाए। २३ बलको सामना गरेका उनले १ छक्का र २ चौकार प्रहार गरे। 
     
    विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद ७ र दिलीप नाथ ४ रनमा आउट भए। अमित श्रेष्ठ १५ र आरिफ शेख १६ रनमा अविजित रहे। पुलिस क्लबले अतिरिक्त रूपमा १० रन पाएको थियो। 
     पुलिसविरुद्ध मधेस प्रदेशका रंजित कुमार र अरनिको यादवले २–२ विकेट लिए।
     
    पहिले ब्याटिङ गरेको मधेस प्रदेशका कुनै पनि ब्याटरले प्रभावकारी प्रदर्शन गर्न सकेनन्। मधेसका लागि अरनिको यादवले सर्वाधिक २३ रन बनाए। २६ बलको सामना गरेका उनले १ छक्का र २ चौका प्रहार गरे। ओपनिङ ब्याटर हरिशंकर शाहले २२ रन बनाए। मधेस प्रदेशका कप्तानसमेत रहेका हरिशंकरले ३३ बलको सामना गर्दा ४ चौका प्रहार गरे। 
     
    अभिशेख तिवारीले अविजित ११ रन बनाए। मधेस प्रदेशका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। मधेस प्रदेशले अतिरिक्त रूपमा १५ रन पायो। 
     
    मधेसविरुद्ध पुलिस क्लबका सागर ढकाल एक्लैले ५ विकेट लिए। ९ ओभर खेलेका उनले ४१ रन खर्चिएका थिए। ललित राजवंशीले पनि ४ विकेट हात पारे। ५ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै केवल १२ रन खर्चिए। राशिद खानले पनि १ विकेट लिए। 
     
    जारी प्रतियोगितामा ५ खेल खेलेको पुलिस क्लबको यो लगातार पाँचौँ जित हो। प्रतियोगिताका सबै खेलमा जित निकाल्ने पुलिस क्लब एक मात्रै टोली हो। हालसम्म ७ खेल खेलेको मधेस प्रदेशले भने बुधबार तेस्रो हार बेहोरेको हो। मधेस प्रदेश ४ खेलमा विजयी भएको छ।


    बुधवार, माघ १० २०८००१:१०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij