काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग गरिएको गठबन्धन सत्ता गठबन्धनलाई हटाउनको लागि भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहनुभएका पन्तले राष्ट्रिय सभा निर्वाचनमा राप्रपासँग गरिएको गठबन्धन एमालेले राप्रपाको सैद्धान्तिक, राजनीतिक विचारलाई स्विकारेको र राप्रपाले पनि एमालेको विचार स्विकारेको नभइ अहिलेको सत्ता गठबन्धनलाई हटाउनको लागिमात्रै भएको दाबी गर्नुभयो ।
नेता पन्तले नेपालमा गणतन्त्र ल्याउनुमा एमालेको निर्णायक भुमिका रहेकोले गणतन्त्रलाई जोगाउन भोलि गणतन्त्रवादी खतरा आइपुग्यो भने सबैभन्दा अगाडि एमाले नै सर्ने बताउँदै यो गठबन्धन असैद्धान्तिक नभएको स्पष्ट दाबी गर्नुभएको छ । यस्तै राप्रपासँग गरिएको गठबन्धन स्थायी नभई निर्वाचन अवधिभर मात्रै भएको पनि नेता पन्तको भनाइ छ ।
आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागी कोसी प्रदेशमा हुने निर्वाचनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तालमेल गर्ने भएका छन् ।
निर्वाचनका लागी दुई दलबीच तालमेलको सैद्धान्तिक सहमति भएको हो । सहमतिअनुसार, एमालेले राष्ट्रियसभा सदस्यको ‘अन्य’ पदमा राप्रपाका उद्धव पौडेललाई सघाउनेछ भने राप्रपाले महिला पदमा एमालेकी रुक्मिणी कोइरालालाई सघाउने नेता पन्तले बताउनुभयो ।
एमालेले ‘अन्य’तर्फ पर्शुराम अधिकारीलाई उमेदवार बनाएको थियो । कोसीमा सत्ता गठबन्धनले ‘अन्य’तर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई र महिलातर्फ नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्कीलाई उमेदवार बनाएको छ ।
निर्वाचनको लागि गएरातीदेखि मौन अवधि लागु भइसकेको छ ।
राष्ट्रियसभाको रिक्त १९ पदका लागि यही माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म निर्वाचन हुँदै छ । निर्वाचनको लागि गएरातीदेखि मौन अवधि लागु भइसकेको छ ।