काठमाडौं । नेपालमा लामो समयदेखि भ्रष्टाचारका शृङ्खलाहरू बाहिरिइरहेका छन् । १९६८ सालमा श्री ३ जुद्धशम्शेरको पालामा योगमायालगायतले उर्लँदो अरुणमा हाम फालेका थिए । त्यहीँ बेलापनि योगमायाले लेखेका कविताका हरफहरूमा भ्रष्टाचारमा निकै चरम सीमा थियो, यद्यपि आकार प्रकारहरू फरक थिए । त्यो बेला योगमायाले लेखेका हरफ हुन्, सरकार निर्दोषलाई दोषी करार गर्छ, दोषी लाई उम्काउँछ । सुशासन आउन सकेको छैन ।
तत्कालीन राणाकालीन समयमा परिवेश फरक भएपनि भ्रष्टाचार र भ्रष्टाचारी अहिलेका पनि उस्तै हुन । अहिले त देशमा विद्यमान हरेक निकायमा भ्रष्टाचारको गन्ध छ । राजनीतिक विश्लेषक एवं इतिहासविद् प्राडा गोविन्दमानसिंह कार्कीले प्रत्येक संघसंस्थामा राजनीतिक दलका नेता कार्यकर्ताहरू भर्ती भएकोले भ्रष्टाचार बढेको दाबी गर्नुभयो । राजनीतिक आवरणका कर्मचारीहरूले मुलुकमा कुशासन निम्त्याइरहेका छन् ।
राजनीतिक चिन्तक एसके तिमिल्सिनाले अहिलेको संविधानले नै भ्रष्टाचारलाई प्रशय दिइरहेको दाबी गर्नुभयो । अस्थिर राजनीतिक प्रणालीमा मौका पाउनासाथ सबैले आफ्नो पोल्टा बलियो बनाउन खोज्ने उहाँको धारणा छ । यद्यपि राजनीतिककर्मीहरू सबैभन्दा भ्रष्ट रहेको तिमिल्सिनाको भनाइ छ ।
भ्रष्टाचारकै कारण मुलुक एसियाकै सबैभन्दा गरिबको सूचीमा रहेको छ । छिमेकी दुई राष्ट्रले विश्व प्रतिस्पर्धा गर्दा यहाँको हालत नाजुक बन्दै गएको देखिन्छ । न्यायालयको स्थिति हेर्दा राजनीतिक भागबण्डामा जगडिएको छ । न्याय पनि श्रीमानहरूको मूडमा भरपर्ने गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको दाबी छ ।
यो मुलुकमा भ्रष्टाचार निवारण सस्तो लोकप्रियता मात्रै बन्ने गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा उहाँको बाचा थियो भ्रष्टाचारी उम्किँदैनन्, तर अहिले आएर आफू र आफ्ना मान्छेतिर अनुसन्धानको सुई घुमेपछि उहाँ पछि हटेको चर्चा हुने गरेको छ । भ्रष्टाचार अन्त्यका लागि सामूहिक बाचा नहुञ्जेल यो मुलुक सुध्रिने देखिँदैन ।