काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले ११ बुँदे निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १२ गतेदेखि बसेर शनिबार बेलुका सम्पन्न बैठकले पार्टीका भातृ संगठनको कार्य अवधि ६ महिना थप गर्ने निर्णय गरेको छ ।
कांग्रेसले आइतबार(आज) आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्यावधि ६ महिना थप गर्ने निर्णय गरिएको जानकारी दिइयो ।
संविधान कार्यान्वयनले नै अहिले देखिएका आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक एवं राजनीतिक समस्याहरू हल गर्न सक्ने कांग्रेस बैठकको निष्कर्ष छ । यसका लागि बाह्रबुँदे समझदारी र वृहत् शान्ति सम्झौताले निर्दिष्ट गरेको शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम निष्कर्षमा पुर्याइ द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन विलम्ब गर्न नहुने निष्कर्ष कांग्रेसले निकालेको छ ।
यसका लागि बैठकले सबैसँग साझा सहमतिका लागि अपिलसमेत गरेको छ । राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशबाट सिफारिस भई आएका नामहरू मध्येबाट भौगोलिक र जातीय सन्तुलनलाई ध्यान दिँदै पार्टीमा योगदान गरेका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका र हालसम्म कुनै पनि अवसर नपाएकाहरूलाई प्राथमिकता दिने कांग्रेसले निर्णय गरेको छ ।
आगामी फागुन ७ देखि १० सम्म हुने भनिएको महासमिति बैठकको मितिलाई कांग्रेस केन्द्रीय समितिले अनुमोदन गरेको छ ।
गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाप्रति दुःख प्रकट गर्दै कांग्रेस बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विशेष सतर्कता अपनाइनुपर्ने कांग्रेस बैठकको ठहर छ । स्वदेशमै रोजगारीको व्यवस्था गरिनुपर्ने र आकर्षक गन्तव्य भएका देशमा रोजगारीको क्षेत्र विस्तार गर्न सके युवामा देखिएको बेरोजगारी हट्ने कांग्रेसको निष्कर्ष छ ।
कांग्रेसले संघीयता कार्यान्वयन सम्बन्धी कानुन बनाउन, सहकारी पीडितलाई न्याय दिन तथा सामान्य ज्याला मजदुरी गर्ने तथा व्यापार व्यवसाय गर्नेहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
त्यसैगरी कांग्रेसबाट चुनाव जितेका जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउन एक केन्द्रीय संयन्त्र बनाउने निर्णय पनि नेपाली कांग्रेसले गरेको छ ।