काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरूको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुभएको छ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरू ल्याइरहने क्रम बढिरहेका भन्दै यसको निगरानी हुनुपर्ने बताउनुभयो ।
उहाँले वैदेशिक सहयोगहरूको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आम जनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताउनुभयो। उहाँले देशको विकास गर्न विभिन्न वैदेशिक सङ्घ संस्था, राष्ट्र र कार्यक्रमहरूमार्फत आइरहेका सहयोगहरूलाई सरकारमार्फत संसद्मा पेस गर्ने र सांसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।
घिमिरेले वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा सांसदले प्रभावकारी निगरानी बढाउनुपर्ने बताउनुभयो । सभामुख घिमिरेले विमानस्थलहरू बनाउने कुरामा सफलता हात लागे पनि त्यसको सञ्चालनबारे कुनै ध्यान नपुगेको बताउनुभयो ।