काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पूर्ण चौथो घुम्ति बैठक सिन्धुलीको कलाघरमा सम्पन्न भएको छ । सोहीक्रममा प्रतिष्ठानको सिन्धुली कार्यालयलाई केन्द्रीय अध्यक्ष रिता थापा मगरले उद्घाटन गर्नुभएको छ ।
कार्यालय उद्घाटनका क्रममा बोल्दै कार्यक्रमका सभापति तथा प्रतिष्ठानका सिन्धुली अध्यक्ष नन्दलाल श्रेष्ठले २०६४ सालमा शाखा स्थापना भएतापनि विभिन्न कारणले भर्खरै कार्यालय उद्घाटन भएको जानकारी दिनुभयो । साथै उहाँले छिट्टै भवन निर्माण गर्नुपर्ने र निर्माणका लागि आफुले एक कठ्ठा जग्गा निशुल्क उपलब्ध गराउने समेत घोषणा गर्नुभयो ।
भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेशका अध्यक्ष तथा पदाधिकारी र केन्द्रबाट अध्यक्ष थापा मगरसँगै पदाधिकारी, सदस्यका साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।
घुम्ति बैठकघि सिन्धुली कलाघरका संयोजक तथा सिन्धुली जिल्लाका सचिव सुमन थापा मगर “नेपाली बाबू“सहित कलाघरका सम्पुर्ण परिवारले फुलमाला र पन्चेबाजाका साथ प्रतिष्ठान केन्द्रलाई कार्यालय तथा संग्रहालय भ्रमण गराउँदै भव्यताका साथ स्वागत गरेका थिए । स्वागतका क्रममा कलाघरको तर्फबाट पन्चेबाजा र आकर्षक नृत्य रहेको थियो ।
प्रतिष्ठानका तर्फबाट प्रथम उपाध्यक्ष रामजी खाडले गायन प्रस्तुत गर्नुभएको थियो । सोही क्रममा बोल्दै केन्द्रीय अध्यक्ष थापा मगरले सिन्धुली कलाघरले गरेको कला निर्माणलाई राष्ट्रले गौरवका साथ लिन सक्नुपर्ने बताउनुभएको थियो । यो राष्ट्रले गर्नुपर्ने काम भएको बताउँदै उहाँले कलाघरले गरेको कामलाई कमलामाई नगरपालिकाका प्रमुखले चासोका साथ लिनुपर्ने तर्क गर्नुभयो ।

अध्यक्ष थापामगरको सभापतित्वमा सम्पन्न घुम्ति बैठकमा वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा लगायतको उपस्थिति रह्यो भने सञ्चालन महासचिव शिव हमालले गर्नुभएको थियो । यसअघि सचिवालय बैठकमा गरेको निर्णय अनुमोदन गर्दै फागुनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा दोहोरी गीत प्रतियोगिता भृकुटीमण्डपमा गरिने र संयोजक केन्द्रका प्रशासनिक सचीव जीवन दाहाललाई बनाउने सहमति भएको थियो ।

साथै, विभिन्न आकस्मिक आर्थिक समस्याहरु आउँदा तुरुन्तै सहजीकरणका लागि नारायण रायमाझी सांगितिक साँझबाट उठेको रकमलाई सामाजिक सहायता कोष स्थापना गर्ने साथै प्राविधिक प्रशिक्षण कार्यक्रम केन्द्रले छिट्टै गर्ने निर्णय पनि भएको प्रतिष्ठानका सञ्चार समन्वय विभाग संयोजक राजकुमार रायमाझीले जानकारी दिनुभयो ।