काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एनसेलको शेयर खरिद–बिक्री अपार्दशी, शंकास्पद र नेपालको कानुनी व्यवस्थाको विपरित भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले यो प्रकरण अत्यन्तै गम्भिर भएकाले यसमा आवश्यक सबै छानविन, अध्ययन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले पनि एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको नेता लेखकले बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एनसेलको शेयर खरिद–बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ ।
लेखकले बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अुनकूल एनसेलको शेयर खरिद–बिक्री नभएको पनि बताउनुभएको छ । उहाँले शेयर खरिद–बिक्रीको कुरा शङ्कास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको स्मरण गराउनुभयो ।
प्रमुख सचेतक लेखकले एनसेल शेयर खरिद–बिक्रीका बारेमा मन्त्रिपरिषद् बैठकले पनि निर्णय गर्ने र सरकारका निकायहरूले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार रहेको बताउनुभयो ।