काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट नियमितरुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन रकम दिने तयारी भएको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीसँग आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री किराँतीले भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी गृहकार्य भइरहेको बताउनुभएको हो ।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई इनामस्वरुप प्रत्येक उडानको ५ लाख रुपैयाँ दिने तयारी गर्दैछौं’, मन्त्री किराँतीको भनाइ उदृत गर्दै प्रतिनिधिमण्डलमा सहभागी पर्यटन व्यवसायी सञ्जीव जोशीले भन्नुभयो ।
नेपाल एशोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा)को लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्न दबाब दिँदै काठमाडौं पुगेको छ ।