काठमाडौं । पोखरामा केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको हो। प्रतियोगिताको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सरकारको लगानीबिना खेल र खेलाडीको विकास असम्भव भएको बताउनुभयो ।
‘जबसम्म खेलाडीहरू व्यवसायिक बन्न सक्दैनन् । तबसम्म खेलकुदमा समृद्धि सम्भव छैन । यसको परिपूर्ति गर्ने काम सरकारको हो’, उहाँले भन्नुभयो ।
प्रतियोगिताको पहिलो खेलमा आयोजकको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबिच भैरहेको छ । प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ ।
प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।